पत्रपत्रिका

मेडिकल कलेज आन्दोलन– प्रहरीद्वारा १५ विद्यार्थी पक्राउ

चितवन । चितवन मेडिकल कलेजले चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका छन् । कलेजविरुद्ध १३ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीमध्ये बुधबार १५ जना गिरफ्तार भएका छन् ।

पक्राउ पर्नेमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द पनि छन् ।

उनले चितवन मेडिकल कलेज ९सीएमसी० बाटै एमबीबीएसको पढाइ पूरा गरेर मेडिकल काउन्सिलको परीक्षा दिनुअघि सीएमसीको शिक्षण अस्पतालमै इन्टर्नसिपमा कार्यरत छन् । प्रकाशको अगुवाइमा नौ दिनदेखि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालको गेट अगाडि दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

विद्यार्थी बुधबार अस्पताल प्रशासनभित्रै छिर्ने तयारी गरेका कारण उनीहरूलाई नियन्त्रणमा लिनुपरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्ले बताए । प्रकाश चन्दसहित १५ विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । विद्यार्थी पक्राउ परे पनि अस्पताल मूल गेट अगाडिको धर्ना र प्रदर्शन जारी नै छ ।

के–के छन् विद्यार्थीका माग ?
चिकित्सा शिक्षा संघर्ष समितिका नामबाट कलेजलाई बुझाएको मागपत्रमा सातवटा बुँदा डेन्टल साइन्सको हकमा र ६ मुद्दा चिकित्सा शिक्षा अध्ययन सम्बन्धमा छन् । जसमध्ये पनि प्रमुख माग भनेको भर्ना शुल्क सरकारले तोकेअनुरूप लिनुपर्ने र बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्ने रहेको छ । छात्रवृत्तिमा पढ्न आउने विद्यार्थीलाई कुनै पनि शुल्क लिन नपाउने उनीहरूको माग छ ।

सरकारले एमबीबीएस अध्ययन गर्दा साढे ४२ लाख रुपैयाँसम्म लिन पाउने भनेको छ । ‘तर हामीसँग कलेजले योभन्दा धेरै नै लिने गरेको छ,’ मेडिकल कलेज गेट अगाडि धर्नामा सहभागी हुँदै गरेका एमबीबीएस तेस्रो वर्षका विद्यार्थी रोबिन साहले भने । विरोध प्रदर्शनमा सहभागी विद्यार्थीका अनुसार तोकेको भन्दा १२ देखि २० लाख रुपैयाँसम्म बढी शुल्क कलेजले लिने गरेको छ ।

कलेज प्रशासनले भने विद्यार्थीको आरोप अस्वीकार गरेको छ । कलेजका सञ्चालक डा। हरिश न्यौपाने शिक्षण शुल्कभन्दा केही बढी शुल्क आफूहरूले लिएको स्वीकार गर्दछन् । ‘साढे ४२ लाख रुपैयाँ भनेको शिक्षण शुल्क मात्रै हो । त्यो शुल्कमा हामीले बढी लिएका छैनौं । तर परीक्षा शुल्कलगायतका केही खर्चहरू जोडेर थप रकम भने लिएका छौं । जुन पारदर्शी छ,’ डा। हरिशले भने ।

शिक्षण शुल्कभन्दा बढी लिने शुल्कका बारेमा सम्बन्धन दिने त्रिविलाई जानकारी गराएर पत्रपत्रिकामा सार्वजनिक सूचना नै निकालेको उनले बताए । ‘शिक्षण शुल्कभन्दा अरू केके शुल्क कति लिने भनेर हामीले पत्रपत्रिकामा नै सूचना निकालेर जानकारी दिएका थियौं,’ डा. हरिशले भने, ‘हामीले साढे ४२ लाखमा ६ लाखसम्म बढी लिएको छौं ।’

संसदीय समितिले बढी शुल्क लिएको भए फिर्ता गर्न भनेको र त्यो शुल्क आउँदो शैक्षिक सत्रमा मिलान गर्न तयार रहेको उनले बताए । त्यसैगरी, शुल्कको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि अनुगमन र अध्ययन गरेको हुँदा केन्द्रको प्रतिवेदन र सिफारिस पनि आफूहरूले मान्ने उनले बताए । ‘सरकारले जे निर्देशन दिन्छ त्यो मान्न हामी तयार नै छौं । यो आन्दोलन किन भइरहेको छ मलाई अचम्म लागेको छ,’ डा. हरिशले भने ।

मेडिकल कलेजको प्रशासनले बुधबार नै प्रेस विज्ञप्ति निकालेर विद्यार्थीले राखेका धेरै मागहरू सरकार र सरकारका अन्य निकायसँग सम्बन्धित रहेको बताएको छ । अस्पताल र कलेज प्रशासनसँग सम्बन्धित मागहरू वार्ता र छलफलबाट पूरा गर्न अस्पताल प्रशासन तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

तर आन्दोलन गरेर अस्पतालको सेवा प्रवाहमा बाधा हाल्ने, सञ्चालकलाई धम्की दिनेजस्ता गैरजिम्मेवार र गैरकानुनी काम भएको अस्पताल प्रशासनले जारी विज्ञप्तिमा जनाइएको छ । कान्तिपुर