साहित्य

बाल साहित्यका लागि प्रज्ञा प्रतिष्ठानको महत्वपुर्ण भुमिकाः कुलपति उप्रेती

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा बुधबार प्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरिएको छ ।

‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक उक्त गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसअघि प्रज्ञा–प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान पुग्न नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गर्ने निर्णय गरेको सुनाउँदै बालसाहित्यको विकासका लागि ‘बालप्रज्ञा’को भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

ऐनले भने, “अबका दिनमा बालसाहित्यलाई प्राथमिकतामा राखेरै योजनाहरू बनाइने छ ।”प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले बालसाहित्य लेखनमा भाषा मानकीकरणको आवश्यकताको महसुस गरी आयोजना गरिएको गोष्ठी सार्थक भएको विचार व्यक्त गरेका हुन् ।

ऐनले प्रज्ञा–प्रतिष्ठान स्थापना भएको ६२ वर्षपछि पहिलो पटक बालसाहित्यमा भाषा मानकीकरणका लागि बहस सुरु गरेकोमा प्रसन्नता व्यक्त गर्दै बालबालिका मुलुकका कर्णधार भएकाले बालसाहित्य लेखक संवेदनील हुनुपर्ने बताएका छन् । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी उपलब्धिमूलक भएको बताउँदै अबका दिनमा यसक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले अझै प्रभावकारी काम गर्ने बताए ।

कार्यक्रमका संयोजक एवम् बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले आफ्नो विभागले बालसाहित्यका क्षेत्रमा नयाँ र ऐतिहासिक महत्वका योजना बनाएर कार्यान्वयन प्रारम्भ गरेको सुनाउँदै दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकवार्ताहरूको सङ्कलन गरी प्रकाशन गरिने योजना रहेको पनि बताएका थिए ।

कार्यक्रममा प्रा.डा. ऋषिराम शर्माले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयमा विचारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा डा. रामप्रसाद ज्ञवालीले ‘बालप्रज्ञा’ र बालकथाका सम्पादक रामदेव पाण्डेले पुस्तकमाथि परिचर्चा गरेका हुन् । बालकथामा १ सय १ बालकथाकारका कथा समाविष्ट गरिएका छन् । कार्यक्रम ‘बालप्रज्ञा’का कार्यकारी सम्पादक प्रा.डा. धु्रव घिमिरेले सञ्चालन गरेका थिए ।