खेलकुद

ओलम्पिक कमिटिको निर्वाचन आगामी शनिबार हुदै

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको निर्वाचन आगामी शनिबार हुने भएको छ । विवादका कारण भदौ २० गते स्थगित भएको निर्वाचन भदौ २८ गते हुने टुङ्गो लागेको हो । सोही अनुसार ओलम्पिक कमिटिले निर्वाचन समितिलाई २८ गते निर्वाचन गराउने गरि तयारी थाल्न निर्देशन दिने तयारी गरेको छ ।

अवैधानिक कमिटिले निर्वाचन गर्न लागेको भन्दै सर्वोच्च अदालतमा मुद्वा दायर भएपछि भदौ २० गतेको निर्वाचन रोकिएको थियो । अदालतबाट मान्यता प्राप्त एनओसी सदस्य कलमबहादुर चित्राकारले निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्वा दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधिश टंबहादुर मोक्तानको एकल ईजलासले भदौ २० गतेको निर्वाचन स्थगित गर्न आदेश दिदै छलफलका लागि भदौ २२ गते सबै पक्षलाई बोलाएको थियो । सबै पक्षसंग छलफल गर्दै अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै रिट निवेदन खारेज गरेको थियो ।

न्यायाधिशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त ईजलासले यसअघिको अन्तरिम आदेश निरन्तर जारी गर्न नपर्ने निर्णय सुनाएपछि एनओसी निर्वाचनको बाटो खुलेको थियो । लगत्तै नेपाल ओलम्पिक कमिटिले नयाँ मितिका लागि आईओसी र एनओसीमा पत्राचार गरेको थियो ।

ओलम्पिक कमिटिको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ मैदानमा छन् । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार निर्वाचन प्रक्रिया रोकिएको बिन्दुबाट सुरु हुनेछ । सह महासचिवमा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टण्डन निर्विरोध भईसकेका छन् ।