राजनीति

सभापति देउवाद्वारा कार्यकतालाई निर्देशनः जसरीपनि उपनिर्बाचन काँग्रेसलाई जिताउनुस्

इनरुवा । नेपाली काङ्ग्रेसले सुनसरीबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । सुनसरी सदरमुकाम इनरुवाबाट मंगलबार हिमाल, पहाड, तराई–मधेश काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अगाडि बढाएको हो ।

अभियानको शुरुआत गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार क्रियाकलापको विरोध गरे । उनले अभियानमा सक्रिय भएर जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमाथि चुनौती देखिएको भन्दै उनले लोकतन्त्रको संरक्षणका लागि आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

लोकतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा बढ्दै गएको उल्लेख गर्दै सभापति देउवाले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप कहिले स्वीकार्य नहुने बताए । उनले उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

बिपी कोइरालाको १०६औँ जन्मजयन्ती अवसरमा जागरण अभियान आजबाट शुरु गरेको र आगामी असोज ७ गते समापन हुनेछ । कार्यक्रमको शुरुआत सभापति देउवाले रूखको बिरुवामा पानी हालेर गरे ।

अभियान कार्यक्रमको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा रहेको पार्टी कार्यालय परिसरमा निर्माण गरिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको समेत उद्घाटन गरिएको पार्टीका कोषाध्यक्ष पङ्कज महतोले जानकारी दिए ।
मंगलबारको जागरण कार्यक्रममा उपसभापति विजय कुमार गच्छदार, केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, मिना सुब्बा, उद्योगपनि बिनोद चौधरी, उमेश श्रेष्ठ, सुनसरी सभापति राजिव कोईराला लगायतले बोलेका थिए ।