सूचना प्रविधि

दशैँअघि ‘फोर जी’ चलाउने टेलिकमको तयारी

काठमाण्डौ । नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिने भएको छ । नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा शुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताए । उनले भने, “हामी सुदूरपश्चिमभरिमा ‘फोर जी’ सेवा सञ्चालनका लागि काम गरिरहेका छौँ, सम्भवतः दशैँअगावै सेवा विस्तार हुनेछ ।”

आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पु¥याउने सरकारी लक्ष्यअनुसार डोटीको दिपायल तथा सिलगढीमा पनि तीव्ररूपमा काम भइरहेको निमित्त प्रमुख चौधरीले जानकारी दिए । दिपायल टेलिकमले ‘फोर जी’ सेवा शुरु हुने बीटीएस टावरमा एन्टेना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको जनाएको छ । दिपायल, राजपुर, पिपल्ला र सिलगढीमा उक्त सेवा सुचारु भएपछि अन्य क्षेत्रमा रहेका टावरमा पनि क्रमशः ‘फोर जी’ सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना रहेको बताइएको छ ।

‘फोर जी’ सेवा शुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेमा यहाँका स्थानीयवासी निकै खुशी भएको जगत पुस्तक भण्डारका सञ्चालक खडकविक्रम शाहीले बताए । उनले भने, “‘फोर जी’ सेवा शुरु भएपछि इन्टरनेट चलाउनेलाई राम्रै हुनेछ, यो खुशीको कुरो हो ।”

‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रीजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्रगतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिकहरु बताउँछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबीपीएस)भन्दामाथि हुने गरेको प्राविधिकहरु बताउँछन् । ‘फोर जी’ सेवाका ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्ने टेलिकमका निमित्त प्रमुख चौधरीले बताए । उनले भने, “‘फोर जी’ उच्च गतिको इन्टरनेट सेवा हुने भएकाले प्रयोगकर्ताले अहिले चलाइरहेको इन्टरनेटभन्दा केही महँगो रकम तिर्नुपर्ने हुन्छ, इन्टरनेट सुविधा राम्रो छ ।”

फोर जी राउटरबाट कम्प्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिने व्यवस्था भएको टेलिकमले जनाएको छ । ‘थ्री जी’ प्रविधिमार्फत ‘भीओडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरु ग्राहकले पाइरहेका छन् । सात दशमलव दुई ‘एमबीपीएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकम कार्यालयले जनाएको छ । अहिले नेपाल टेलिकमले कैलाली, कञ्चनपुरलगायतका अन्य जिल्लाहरुमा रहेका टावरमा समेत फोर जी सञ्चालनका लागि तीव्ररूपमा काम गरिरहेको र उक्त काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । यसभन्दा पहिले फोर जी सेवा काठमाडौँ, पोखरालगायतका शहरहरुमा मात्र शुरु गरिएको थियो ।