समाचार

एनसेललाई कर छुट दिने न्यायाधीशलाई काँग्रेससहितका साँसदहरुद्वारा हटाउन चर्को आवाज

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताए । उनले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राखे ।

सांसद विमला नेपालीले महँगी र भीमसेनदास प्रधानले डेङ्गु रोगको नियन्त्रण गर्न जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरे । सांसद मनकुमारी जिसीले एड्स रोगीलाई बीमा कम्पनीले विभेद गरेको बताए भने महेश्वरजङ्ग गहतराजले सडकमा गाईगोरु छाडा छोड्नाले कारवाही गर्न माग गर । सांसद मायादेवी न्यौपाने, मीनाक्षी झा र मैनाकुमारी भण्डारीले महिला तथा बालिकामाथि हुने यौन हिंसा र मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकारको ध्यानाकर्षण गरे । सांसद यज्ञराज सुनुवार, यशोदा सुवेदी, राधा ज्ञवाली, रानी मण्डल, राजबहादुर बुढा, रेखाकुमारी, भरतकुमार शाह र रेणुकाकुमारी गुरुङले पनि समसामायिक विषयमा आआफ्नो धारणा राखेका थिए ।

तेजाब हान्नेलाई कारबाही माग
विशेष समयमा सांसदले पछिल्लो समयमा किशोरी र महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएकाले त्यसबारे विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग गरे । सांसदले सिरहा र सप्तरीलगायत देशका विभिन्न स्थानमा किशोरी र महिलामा तेजाब आक्रमण बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्दै सुरक्षाको माग गरे ।

सांसद पुष्पाकुमारी कर्णले यही भदौ २० गते वीरगञ्जमा एक किशोरीमाथि आक्रमण गर्ने दोषीलाई कडा कारवाही गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराईन् । उनले पछिल्लो समयमा पहिलामाथि हुने हिंसाका घटना झन्झन् बढ्दै गएकाले त्यसको अन्त्यका लागि पहल गर्न सरकारसँग माग गरिन् । सांसद सुरेशचन्द्र दासले मुलुकका विभिन्न स्थानमा भएको हत्याहिंसा अन्त्य गर्दै दोषीमाथि कारवाही होस् भनिन् ।

सांसद नवराज सिलवालले सामाजिक सञ्जालको दुरुपयोग र विकृति बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने माग गर्नुभयो । जनताको सेवाको लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए । सांसद खगराज अधिकारीले भ्रष्टाचारको अन्त्य गर्दै गरीबी निवारणका लागि सरकार र प्रतिपक्ष दललागयत सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्छ भने । उनले एनसेलको लाभांश नेपाली जनाताले पाउनुपर्ने माग गरे ।

सांसद अनिलकुमार झाले तराईका विभिन्न स्थानमा आएको बाढीका कारण जनता आक्रान्त बनेकाले त्यसको ठोस र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद विमलप्रसाद श्रीवास्तवले भारतको काश्मीरमा भएको समस्याबारे नेपालले प्रष्ट धारणा राख्नुपर्छ भने । उनले पर्यटन वर्ष सफल बनाउनका लागि प्रवेशाज्ञा प्रक्रियालाई सहज र छरितो बनाउनुपर्नेमा जोड दिए ।

सांसद प्रेम सुवालले नेपालमा देखा परेको डेङ्गु रोगथामका लागि सरकारले चालेको कदमबारे सरकारको जवाफको माग गरे । सांसद पार्वता डिसी चौधरीले एनसेल प्रकरणबारे पछिल्लो पटक सर्वोच्च अदालतले गरेको फैसलापछि समग्र न्यायालयप्रति नै जनताको वितृष्णा फैलिएको छ भने । सांसद आशाकुमारी विकले भ्रमण वर्षको तयारीले सुदूरपश्चिमलाई किन छुन सकेको छैन भन्दै सरकारलाई प्रश्न गरिन् । सांसद अभिषेकप्रताप शाहले कञ्चनपुर र कपिलवस्तुका किसान आन्दोलनमा रहेका बारे सरकारको ध्यानाकर्षण गराए । सांसद रङ्गमती शाहीले जुम्लाका स्याउले बजार नपाएका बारे सरकारको ध्यानाकर्षण गराइन् । सांसद इन्दुकुमारी शर्माले जलेश्वर कारागारको भौतिक संरचनाको पुनःसंरचना गर्नुपर्ने माग गरे ।