अन्तर्राष्ट्रिय

रूससँगको तनावलाई कम गर्ने वेला भएको फ्रान्सको भनाई

एजेन्सी । फ्रान्सले रूससँगको तनावलाई कम गर्ने समय भएको बताएको छ । फ्रान्सका विदेशमन्त्री जाँ–यभेस लेड्रेनसहित केही वरिष्ठ मन्त्रीहरूले सोमबार रूसी समकक्षीसँग मस्कोमा गरेको भेटपछि गरिएको पत्रकार सम्मेलनमा उक्त भनाई राखेका हुन् । लेड्रेनले भने “अब अविश्वासलाई कम गर्ने समय आएको छ र यो नै सही समय हो ।”

सन् २०१४ मा रूसले यूक्रेनबाट क्रिमियालाई कब्जामा लिएपछि निलम्वन गरिएको तथाकथित ‘टू प्लस टू’ ढाँचाबारे लेड्रेन तथा रक्षामन्त्री फ्लोरेन्स पार्लीले पहिलो पटक उक्त बिषयमा छलफल गरेका हुन् । लेड्रेनले भने , “हामी गणतन्त्र फ्रान्सका राष्ट्रपतिका नाममा विश्वास र सुरक्षाका नयाँ बिषयमा सुझाव दिन आएका छौँ ।”

“हामीले गलत बुझाई र टकरावलाई रोक्न एकआपसमा कुराकानी गर्नु जरूरी छ,” पार्लीले भने । त्यसैगरी भेटवार्ताबमरे रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले सम्बन्ध विस्तारमा भएका प्रयासमा ‘सम्भावित तथा आवश्यक’ प्रगति भएको बताएका छन् । रूस र यूरोपबीचको सम्बन्ध सन् २०१४ मा मस्कोले क्रिमियालाई गाभेपछि यूरोपेली संघ र संयुक्त राज्य अमेरिकाले रूसविरूद्ध नाकावन्दी लगाए भने रूसले पनि जवाफी कदम लिँदै गयो जसबाट रूस र इयूबीचको सम्बन्धमा समस्या देखिएको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँको पहलमा रूससँगको तनाव कमी भएको देखिएको छ । म्याक्रोँले गत महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दक्षिणी फ्रान्समा भेटवार्ता गरेपछि दुईदेशबीचको उच्च–स्तरीय कूटनीतिक सम्पर्क पुनः स्थापित भएको छ ।