खेलकुद

विश्वकप छनोट – ताईपेविरुद्व अंक जोड्ने नेपालको बाचा

काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज चाईनिज ताईपेसंग प्रतिस्पर्धा गर्दैछ । समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसंग खेल्न लागेको हो । पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्वको खेल महत्वपुर्ण छ ।

नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेसग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । सोही कारण विश्वकप छनोटको दोस्रो खेलमा मैदान उत्रदै गर्दा नेपाल कम्तिमा सोही नतिजा दोहर्याउने लक्ष्यमा हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले समेत प्रष्ट रुपमा गत जेठमा गरेको प्रर्दशनलाई निरन्तरता दिने योजनामा आफुहरु रहेको बताएका छन् । ‘गत जुनको प्रर्दशन दोहर्याउन आतुर छौ ।’ उनले थपे, ‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको हामी फुटबल खेल्न आएका हौ । उत्कृष्ट फुटबल पस्किने छौ ।’

हुन त फिफा वरियतामा नेपाल भन्दा ताईपे माथि छ । चाईनिज ताईपे वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल १ सय ६६ औ स्थानमा छ । तर ताइपेको मैदानमा अंक जोड्ने लक्ष्य नेपालले लिएको छ ।

हाम्रो लागि अघिल्लो खेल निराशाजनक रह्यो । हामीले सबै गोल आफ्नै गल्तीले खायौँ। हामीले कुवेतविरुद्ध खराब फुटबल खेलेका थियौँ तर हाम्रो मुख्य लक्ष्य लयमा फर्कनु हुनेछ । हामीलाई थाहा छ गल्ती कहाँ रह्यो । प्रशिक्षक कालिनले भने ।

कालिन नेतृत्वको नेपाली टिमले विश्वकप छनोट अघि कुवेतसंगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकालेको थियो । पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेल पेनाल्टीमा १–० ले गुमाएको थियो । तर विश्वकप छनोटमा कुवेतसंग ७–० को लज्जास्पद हार नेपालले ब्यहोर्यो । नतिजाबाट प्रशिक्षक कालिन समेत आश्चार्यमा छन् । सो गल्ती ताइपेविरुद्व दोहर्याउन नहुनेमा उत्तिकै सजक पनि ।

ताइपे राम्रो टिम हो । उनीहरुलाई कमजोर आँकलन गर्नु गल्ती हुनेछ । यो टिम कुवेतजत्तिकै राम्रो छ । कालिनले भने, हालै कुवेतले हङकङलाई हराएको थियो । हामीले खेलका लागि योजना बनाईसकेका छौँ । कालिनले थपे ।

घरेलु टोली र नेपालबीचको खेल ताइपे स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेटमा सुरु हुनेछ । नेपाली टिमका कप्तान किरण चेम्जोङ समेत ताइपेविरुद्व खेलका लागि आफुहरु खेल्न तयार रहेको बताएका छन् । उनले राम्रो तयारी गर्न नपाएपनि घरेलु टोलीविरुद्व मैदान उत्रन आफुहरु आतुर रहेको उल्लेख गरे । हामीले यहाँ धेरै तयारी गर्न पाएनौ । हामीले हिजो सामान्य अभ्यास गरेका थियौं । आज पनि खेलअघिको ट्रेनिङ ढिला भयो । तर, हामी तयार छौँ । प्रि म्याच कन्फरेन्समा किरणले भने ।