समाचार

नेपाल– चीन परराष्ट्रमन्त्रीस्तरिय वार्ता आजःचिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज विभिन्न वरिष्ठ व्यक्तित्वहरुसंग सिष्टाचार भेटवार्ता गर्दछन् । तीन दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङ यीको टोलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ता गर्न लागेको हो ।

साथै सोहि अबसरमा नेपाल चीन परराष्ट्रमन्त्रीस्तरिय वार्ता पनि आज हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाङ हिजो साँझ नेपाल आएका हुन । दुई देशबीच केहि समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

वार्तामा पुराना सम्झौताहरु कार्यान्वयनको समीक्षा र पुनरावलोकन पनि हुने छ । चार वर्षपछि नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले दुई मुलुकबीच अहिलेसम्म भएका सन्धिसम्झौता, नेपालमा सञ्चालित विकास निर्माण परीयोजनाको पुनरावलोकन तथा तिनीहरुको कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ ।

वार्तामा शिक्षा, स्वास्थ्य क्षेत्रमा चीनले गर्ने सहयोगका बारेमा पनि छलफल हुने बताइएको छ । यसैबीच विदेशमन्त्री वाङले आजै साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सो लगत्तै विदेशमन्त्री वाङको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नेछ । वाङको सम्मानमा आजै साँझ परराष्ट्रमन्त्री ज्ञवालीले रात्री भोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।