समाचार

२००८ देखी २०१३ सम्म वीपी आफैंले लेखेको बिपी कोइरालाको डायरी लोकार्पण

काठमाण्डौ । नेपाली काङ्ग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ को आज लोकार्पण गरियो । डायरी लोकार्पण गर्दै उनका सुपुत्र एवं काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताए ।

महामन्त्री डा कोइरालाले बिपीले आफूलाई जुन क्षेत्रको अध्ययन गरे पनि उत्कृष्ट बन्ने प्रयास गर्नुपर्छ भनेको स्मरण गर्दै बिपीले पनि अन्तिम समयसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि प्रयास गरेको उल्लेख गरे । बिपीले सदैव ‘ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “अहिले बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो, उहाँको प्रेरणा र विचारलाई आत्मसात् गर्दै हामीले राजनीतिलाई सफा र निष्कलङ्क बनाउनुपर्छ ।”

बिपीले अङ्ग्रेजीमा लेख्नुभएको उक्त डायरी पदमबहादुर थापाले परिवारबाट सङ्कलन गरी सम्पादन गर्नुभएको हो भने महेश पौड्यालले नेपालीमा अनुवाद गरेका हुन् । डायरीको प्रकाशक शिखा बुक्स, काठमाडौँ रहेको छ ।

कार्यक्रममा काङ्ग्रेस नेता नरहरि आचार्यले बिपीको राजनीतिमा सक्रियता बढेका बेला उक्त डायरी लेखिएको बताउँदै तत्कालीन सङ्क्रमणकालीन अवस्था र अहिलेको राजनीतिक अवस्था काङ्ग्रेसका लागि तुलना गर्न मिल्ने खालको रहेको धारणा व्यक्त गरे।

काङ्ग्रेस नेता डा शेखर कोइरालाले अहिले मुलुकको राष्ट्रियता कमजोर भएको तथा प्रजातन्त्र, गणतन्त्र र सङ्घीयतामाथि खतरा देखिएको अवस्थामा काङ्ग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै इतिहासबाट पाठ सिकेर अघि बढे मात्र मुुुलुकको भविष्य उज्ज्वल हुने बताए ।

कार्यक्रममा ‘नेपाली काङ्ग्रेसको इतिहासको प्रारुप’का लेखकका पुरुषोत्तम बस्नेत एवं ‘लोकतन्त्र र समाजवाद’ पुस्तकका लेखक शोभाकर पराजुलीले आ–आफ्ना पुस्तकका बारेमा परिचर्चा गरे ।

यसैगरी पत्रकार चन्द्रकिशोर झा, शिखा बुक्सका पुष्प पौडेल, अनुवादक पौड्याललगायतले बिपीको डायरी राजनीति, इतिहास र साहित्यानुरागीका लागि निकै उपयोगी हुने धारणा व्यक्त गरेका थिए ।

यो डायरी सङ्क्षिप्त भए पनि यसले नेपालका अधिकांश भाग र भारतका दिल्ली, बम्बई, कोलकाता, पटना, बनारस, दार्जिलिङलगायत स्थलबाट त्यसबेलाको नेपालको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रलाई समेटेको छ । साथै विसं २०१२ को अन्त्यतिर बिपीले हालको गण्डकी प्रदेशका अधिकांश जिल्लाको एक महीना लामो भ्रमण गर्नुभएको र भ्रमणमा काङ्ग्रेस नेता सुवर्ण शम्शेर र कुनै बेला महामन्त्री रहेका तुलसी गिरी, विश्वबन्धु थापासमेत साथमा रहेको सो डायरीले जनाउँछ ।