खेलकुद

अण्डर– १९ एसिया कपमा आज नेपाल र बंगलादेश भिडदै

२२ भदौ, काठमाडौं । एसीसी अण्डर– १९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी अण्ड–१९ एसिया कप क्रिकेट नेपालले आज १० बजेर १५ मिनेटमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ । सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्नका लागि पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । यदि पराजित भएमा नेपाल एक खेल अघि नै अण्डर –१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिने छ ।

किनभने नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग पाँच विकेटको हार ब्यहोरेको थियो । आजै हुने अर्को खेलमा श्रीलंकाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।