खेलकुद

राष्ट्रिय फुटबल टिम ताईपे प्रस्थान

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत चाइनिज ताईपेसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । विश्वकप छनोट अन्तर्गत दोस्रो खेल खेल्न नेपाली टिम शनिबार राति चाइनिज ताईपे प्रस्थान गरेका छन् ।

छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा ताईपेसँग मंगलबार उसैको मैदानमा खेल्नेछ । यसअघि छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको थियो । बिहिबार राति नेपाल कुवेतसँग उसैको मैदानमा ७(० गोल अन्तरले पराजित भएको थियो ।

तर, छनोटको समूह बी रहेको नेपालले ताईपेविरुद्धको खेलमा भने अंक जोड्ने लक्ष्य बनाएको छ । नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । चोटका कारण डिफेन्डर अजित भण्डारी र ज्वरोको कारण फरवार्ड नवयुग श्रेष्ठ टिमबाहिर रहेका छन् ।

अजितको स्थानमा रवी सिलवाल र नवयुगको स्थानमा विमल रानालाई टिममा राखिएको छ । भिसा समस्याको कारण रवी भने टिमसँग गएका छैनन् ।