पु.समाचार

विकास र समृद्धिको मुख्य आधार पर्यटनः मुख्यमन्त्री राउत

महोत्तरी । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् । बर्दिवासमा आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताए ।

प्राकृतिक, सांस्कृतिक र भौगोलिक रुपले नेपाल वैभवशाली भए पनि यिनको उपयोग ठिक ढङ्गले गर्न नसक्दा नेपालीको पछौटेपन हट्न नसकेको उनले बताए । मुलुकमा तीनै तहका सरकार बनी सक्दा पनि आपसी समन्वय हुन नसक्दा कामको मेसो नै समात्न नसकिएको मुख्यमन्त्री राउतको भनाइ थियो । “हामीबीच राम्रो समन्वय हुन सकेको छैन”, उनले भने । प्रदेश सरकारले आठवटै जिल्लाका प्रमुख धार्मिक स्थललाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने अवधारणा बनाइएको उनले बताए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सँग संसारलाई देखाउन सक्ने सांस्कृतिक वैभव भएको र त्यसको उपयोगको खाका प्रदेश सरकारले कोरेको बताए । प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, रामआशिष यादव र शारदादेवी थापाले नेपालको पर्यटन विकासमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए । महासङ्घका प्रदेश २ संयोजक हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी सबै क्षेत्रले समन्वयात्मक रुपले काम अघि बढाउनुपर्नेमा जोड दिए।