पर्यटन/संस्कृति

हिमालय एयरलाईन्सको वायुसेवा संचालक समितिसङ्ग सहकार्य

काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय विमान वाहक संस्था हिमालय एयरलाईन्सले समाजको कल्याणकारी कार्यका लागि संस्थागत सामाजिक क्रियाकलापलाई अझ व्यापक बनाउन वायुसेवा सञ्चालक समिति नेपालसँग सहकार्य गरेको छ । सेप्टेम्बर ५, २०१९ मा भएको बार्षिक कल्याणकारी क्रियाकलापका लागि वायुसेवा संस्थाहरुको संगठनले समितिसँग सहकार्य गरेको थियो । वायुसेवा सञ्चालक समितिको नेतृत्वमा यो बर्ष काठमाडौंको मातातीर्थस्थित मातातीर्थ वृद्धाश्रम समितिलाई सहयोग गरिएको छ ।

वृद्ध महिलाहरुलाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । यही कुरालाई मध्यनजर गर्दै हिमालय एयरलाईन्सले आश्रममा सरसफाईका आवश्यक सामग्रीहरु वितरण गरेको छ । वृद्धाश्रम समितिको अनुरोध अनुसार एयरलाईन्सले साबुन, सर्फ, शौचालय सामग्री, टावल, कुचो तथा कपाल काट्ने सामाग्रीहरु उपलब्ध गराएको हो ।

काठमाडौंबाट १५ किलोमिटर पश्चिमको दूरीमा रहेको मातातीर्थ वृद्धाश्रम सन् १९९७ मा स्थापना भएको थियो । घरबारविहीन, हेरचाह नपाएका, परिवारविहीन ६० बर्ष उमेर काटेका वृद्ध नेपाली महिलाहरुलाई आश्रमले आश्रय दिँदै आइरहेको छ ।

आश्रमले भोजन, आश्रय तथा लत्ताकपडा बाहेक पनि स्वास्थ्य, धार्मिक तथा मनोरञ्जनात्मक सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । हाल आश्रममा २५ वृद्ध महिला र ५ सहयोगीहरु बस्दै आएका छन् ।

समितिका प्रबन्धक राम थापाज्यूलाई सामाग्री हस्तान्तरण गर्दै, ब्रान्ड तथा सर्भिस इम्प्रुभमेन्ट प्रमुख उज्ज्वला दलीले विचार व्यक्त गर्दै भन्नुभयो ‘यस महान कदम उठाएकोमा हिमालय एयरलाईन्सले वायुसेवा सञ्चालक समितिको प्रशंसा गर्दछ र मातातीर्थ वृद्धाश्रम समितिलाई योगदान पु¥याउन हामीलाई पनि समावेश गरेकोमा आभार प्रकट गर्दछौं । यस्तो महत्वपूर्ण क्रियाकलापको हिस्सा हुन पाएकोमा हामी आभारी छौं । हिमालय एयरलाईन्स यस्ता सामाजिक कल्याणका कार्यमा सहकार्य गर्न सदैव उत्सुक र तत्पर छ । यसरी आवश्यकताबाट वञ्चित आमाहरुको आश्रय र हेरचाह गर्ने जिम्मेवारी उठाउनु मातातीर्थ समितिको यो भद्र काम हो । यी आमाहरुको नियमित सहयोगका लागि हिमालय एयरलाईन्स प्रतिबद्ध छ र अन्य सबै संगठन र व्यक्तिहरुलाई पनि यस कार्यमा सहकार्य गर्न आग्रह गर्दछ । यी वृद्ध महिलाहरुको अनुहारमा खुशी ल्याउनु एक उदार कार्य हो ।’