खेलकुद

साग – निशा र वीरसहित ३४ खेलाडी छनोट

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि तेक्वान्दोबाट ३४ खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघले शुक्रबार आयोजना गरेको छनोटबाट सागका लागि पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएको हुन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको छनोटबाट पुम्सेबाट समान ९र९ महिला र पुरुष खेलाडी छनोट भए । यस्तै क्यारोगीमा समान ८र८ महिला र पुरुष छनोट भए । क्यारोगीको महिलातर्फ ओलम्पियन तथा १२ औं साग खेलेकी निशा रावल ७३ केजीमाथिको तौल समूहमा छनोट भईन् ।

यस्तै ५७ केजीमुनि निमा गुरुङ, ४६ केजीमुनि काजल श्रेष्ठ, ४९ केजीमुनि युनिशा राई, ५३ केजीमुनि अस्किता खड्का, ६२ केजीमुनि इन्दिरा बस्नेत, ६७ केजीमुनि संगिता बस्याल र ७३ केजीमुनि अप्सरा कार्की छनोट भईन् ।

क्यारोगीको पुरुषतर्फ ६८ केजीमुनि वीर बहादुर महरा, ८७ केजीमाथि सक्षम कार्की, ५४ केजीमुनि मनोज मल्ल, ६३ केजीमुनि ज्ञानेन्द्र हमाल, ५८ केजीमुनि गोविन्द मगर, ७४ केजिमुनि निश्चलमान श्रेष्ठ, ८० केजीमुनि किरण मगर र ८७ केजीमुनि भुपेन श्रेष्ठ छनोट हुन सफल भए ।

पुम्सेको पुरुषतर्फ १८ देखि २४ वर्षको उमेर समूहमा कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत र दिपेन्द्र गुरुङ छनोट भए । २४ देखि २९ वर्षसम्म उमेर समूहमा कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बू छनोट भए । ३० वर्षमाथिको उमेर समूहमा रेजिन रिमाल र सन्जिव ओझा छनोट भए ।

पुम्सेको महिलातर्फ २४ देखि २९ वर्ष उमेर समूहमा पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई छनोट भईन् । १८ देखि २३ वर्ष उमेर समूहमा सिना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना छनोट भईन् ।

त्यस्तै ३० वर्षमाथिको उमेर समूहमा आयशा शाक्य छनोट भईन् । नेपालले आयोजना गर्ने साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।