समाचार

भुकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन सकेनः पुर्बप्रधानमन्त्री रेग्मी

काठमाण्डौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताएका छन् ।

नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका हुन् । “सामुदायिक विद्यालय सम्पूर्ण नेपालीको विद्यालय हो, यसको पुनःनिर्माण चाँडो हुनुपर्छ”, उनले भने ।

उनले विश्वका हरेक देशको विकास सामुदायिक विद्यालयमा पढेका विद्यार्थीबाट भएको भन्दै नेपालको सामुदायिक विद्यालयलाई राम्रो बनाउन सरकार लाग्नुपर्ने उल्लेख गरे । अहिले मुलुकमा संस्कृति, सभ्यता सिकाउने नैतिक शिक्षाको खाँचो रहेको उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले अहिलेको समयमा प्रविधियुक्त शिक्षाको खाँचो रहेको बताए। “सीपमूलक र गुणस्तरीय शिक्षा अहिले मुलुकका लागि आवश्यक छ”, उनले भने ।

प्रदेश–३ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले इतिहास बोकेको युवक माध्यमिक विद्यालयले जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताए । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले गुणस्तरीय शिक्षाका कारण मात्र मुलुकको विकास हुने बताए । युवक माध्यमिक विद्यालयको शिक्षाको विकासका लागि वडाको साथ र सहयोग रहने उनको भनाइ थियो ।

नेपाल पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक इमनारायण श्रेष्ठले विसं २०७२ को भूकम्पले क्षति पु¥याएका आठ हजार विद्यालयमध्ये पाँच हजार विद्यालय पुनःनिर्माण गरिसकेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पन्तले भवन निर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । एशियाली विकास बैंकको रु चार करोड ६६ लाख ऋण अनुदानमा निर्माण भएको भवन चारतले रहेको छ । उक्त भवनमा २४ कक्षाकोठा रहेका छन् । एशियाली विकास बैंकले हाल नेपालमा १६२ विद्यालय पुनःनिर्माणका लागि ऋण अनुदान उपलब्ध गराइसकेको छ ।