समाचार

सर्बोच्चको फैसलापछि ओलम्पीक कमिटीको निर्वाचन स्थगित

काठमाण्डौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ ।

यही भदौ १७ गते सर्वोच्च अदालतले एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई यही भदौ २२ गते छलफलका लागि बोलाएको छ ।