प्रदेश 1

रक्तसञ्चार केन्द्रमा रगतको ह्वात्तै माग

विराटनगर । विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको माग बढेको छ । दिनदिनै बढेको गर्मीका बिरामीको सङ्ख्या बढ्न थालेपछि रगतको माग बढेको हो । केन्द्रका अनुसार दैनिक ६० जनाभन्दा बढी मानिस बिरामीका लागि रगत लिन आउने गरेका छन् ।

आवश्यकताअनुसार रगतको माग पूरा गर्न धेरै समस्या भइरहेको सो केन्द्रका प्राविधिक इञ्चार्ज शिवनन्द यादवले बताए । रगतको माग बढी छ तर आपूर्ति भने कम रहेकाले आवश्यकताअनुसार रगत वितरण गर्न नसकेको इञ्चार्ज यादवको भनाइ छ ।

विराटनगर पछिल्लो समयमा अस्पतालका केन्द्र बन्न लागेको र सबै क्षेत्रबाट बिरामीको चाप यहाँका अस्पतालमा देखिन्छ । क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा २०० भन्दाबढी सङ्घ संस्थाले गरेको रक्तदानबाट रगत सङ्कलन हुने गरेको छ ।

बिरामी भएर रगतको आवश्यक परेर आउनेमा मोरङ, सुनसरी र छिमेकी देश भारतबाट बिरामी छन् । नेगेटिभ ग्रुपका रक्त कम हुने भएकाले कहिले काहीँ समस्या हुने गरेको इञ्चार्ज यादवले बताए । गएको वर्षमा केन्द्रमा १९ हजार पिन्ट रगत सङ्कलन भएर वितरण भएको छ भने यस वर्ष सोभन्दा बढी रगत सङ्कलन गर्ने योजना केन्द्रले बताएको छ ।