समाचार

मेलम्ची आयोजनामा झडपः ढुङ्गामुढापछि प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार

सिन्धुपाल्चौक । मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ ।

झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए ।

झडपमा प्रहरीबाट छ राउण्ड अश्रु ग्यास तथा दुई राउण्ड हवाइ फायर भएको छ भने पीडितले ढुङ्गामुढा प्रहार गरेका छन् । आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधनमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए ।

तोकेको घेरा नाघ्न खोजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । त्यसैक्रममा आन्दोलनकारीले एक्कासि ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए । आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो ।

अम्बाथानमा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्य लगायतको टोलीसहित एकै पल्ट जाने भनिए तापनि आन्दोलनकारीले पर्खन नसक्ने भन्दै ढुङ्गामुढा प्रहार गरेपछि घटनाले उग्ररुप लिएको हो ।