गण्डकी प्रदेश

पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी । धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।

पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्ने पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताए । “खोलामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ”, उनले भने । बर्खामा बाढी आउँदा आवतजावत बन्द हुने गरेको थियो ।

रु ३३ लाख ८० हजारको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर छन्त्यालले जानकारी दिएका छन् । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो । मजदुरको ज्याला र निर्माण सामग्री खरीद गाउँपालिकाले गरेको हो ।

समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा मालिका धुरी रहेको छ । यहाँ बुद्धजयन्ती, तिहार र जेष्ठ पूर्णिमामा पूजाआजा गर्नेको घुइँचो लाग्छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि र माछापुच्छ«े हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मालिका गाउँपालिकाको बिम, दुखु, रघुगङ्गाको ठाडाखानी, मङ्गलाको टोड्के र हिदी भएर मालिका पुग्न सकिन्छ ।

मालिका गाउँपालिकाले गत आर्थिक वर्षमा बिम बाइन्दफाँट हुंदै मालिका धुरी नजिकैको नुनथलासम्म सडक खनेको छ । यसैगरी मन्दिर परिसरमा पूजा स्थललाई फराकिलो बनाउनुको साथै रेलिङसहितको पदमार्ग र आश्रयस्थल निर्माण गरिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए । रघुगङ्गा गाउँपालिकाले गत आवमा ठाडाखानीदेखि मालिका धुरी जाने पदमार्ग निर्माण गरेको थियो । पूर्वाधार निर्माण भए पछि मालिका जाने पर्यटक र भक्तजनलाई सहज भएको छ ।