अन्तर्राष्ट्रिय

इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकूको मृत्यु

एजेन्सी । इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलबार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् । इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो ।

सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ्ग ध्वस्त हुनको साथै नौ जना आइएस लडाकू मारिएका इराकी संयुक्त कारबाही कमाण्डका प्रवक्ता याहया रसुउलले विज्ञप्तिमार्फत बताएका छन् ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले देशभर कट्टरपन्थी आतंकवादलाई पूर्णरुपले हराएपछि इराकको सुरक्षास्थिति नाटकीय रूपमा सुधार भएको छ । यद्यपि आइएसका लडाकू समूहले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर बसेका छन् र सरकारी संघ संस्था र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।