अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता

एजेन्सी । अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ । डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् ।

अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् । हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।

आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ । क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।