राजनीति

राष्ट्रिय परिचयपत्र आम नेपालीका लागि महत्वपूर्णः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको आज जिल्ला प्रशासन कार्यालय परिषरमा उद्घाटन गर्दै उनले राष्ट्रिय परिचयपत्र आम नेपालीका लागि महत्वपूर्ण रहेको बताए ।

राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै उनले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताए । उनले भने, “अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु भएको छ ।” ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित हुने उनले विश्वास दिलाए ।

सो अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्रमा दिइने ‘दश अङ्क’ व्यक्तिको परिचय भएको जानकारी दिए । पाँचथरबाट शुरु भएको परिचयपत्र वितरणको कार्य दोस्रो चरणमा चितवनसहित १५ जिल्लामा लागू भएको र चालू आर्थिक वर्षमा नै देशभर लागू हुने उनले बताए ।

प्रजिअ जितेन्द्र बस्नेतले असार महीनाबाट परिचयपत्र निर्माणको काम शुरु भएको जानकारी दिए । कार्यालयको उद्घाटनपछि पूर्वप्रधानमन्त्री दाहालले समेत परिचयपत्रका लागि तस्वीर खिचाउने, बायोमेट्रिक गर्ने, आफ्नो विवरण कम्प्युटरमा दर्ता गर्ने काम गरेका थिए ।