स्वास्थ्य

डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु

मध्यपुरथिमि । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी रहेकाले नगरपालिकाले प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको बताउनुभयो । डेङ्गु नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्न गर्ने उल्लेख गर्दै प्रमुख थापाले प्रत्येक वडाले आफ्नो वडाभित्र निरन्तर माइकिङ गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेङ्गु नियन्त्रणबारे नगरवासीलाई सचेत गराइने जानकारी दिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीले डेङ्गु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताए । नगरपालिका स्वास्थ्य एकाइ संयोजक वसन्त चापागाईंले डेङ्गु सङ्क्रमण बढेपछि प्रत्येक स्वास्थ्यचौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेङ्गुबारे जनचेतना अभियान चलाइएको बताएका छन् ।