प्रदेश 2

पोखरीमा डुबेर ३० वर्षिय मुखियाको मृत्यु

सप्तरी । राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका हुन् ।

पोखरीमा स्वयं हामफालेर डुबेको कुरा उनकै २८ वर्षीया श्रीमती पुनमदेवी मुखियाले फोनमार्फत जानकारी गराएपछि प्रहरीले खोजतलास गरी आज बिहान शव निकालेको प्रनाउ मिश्रले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।