गण्डकी प्रदेश

तीन वर्ष बित्दा पनि बनेन पुलः निर्माणाधीन पुल अलपत्र

दमौलि । तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो ।

म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । समयमै पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन र सर्वसाधारणले खोला वारपार गर्न सास्ती भोग्दै आएका छन् । वर्षाका बेला खोला बढेर आउँदा वारपार गर्न समस्या हुने गरेको स्थानीयवासी तमनसिंह नेपालीले बताए ।

वर्षायाममा दुईपाङ्ग्रे सवारीलाई खोला वारपार गर्न समस्या हुने गरेको छ । वर्षेनी मोटरसाइकल र स्कुटर खोलाले बगाउने गरेको उनले बताएका छन् । खोलामा पक्की पुल निर्माण हुने भएपछि खुशी भएका यहाँका स्थानीयवासी काम नै अलपत्र भएपछि निराश हुन थालेको स्थानीयवासी प्रेम नेपालीले जानकारी दिए । वर्ष दिन बित्दासमेत कामले गति नलिँदा निराश बनेका छन् ।

यही गतिमा काम भए १० वर्षसम्ममा पनि पुल नबन्ने उनले बताएका छन् । पुल निर्माणका लागि काठमाडौँस्थित शान्ति निर्माण सेवासँग सम्झौता भएको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीले पुलको काम एक वर्षदेखि ठप्प छ । खोलाको दुईतर्फी र बीच भागमा पिलर मात्र ठडिएको छ । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इञ्जिनीयर सचिन श्रेष्ठले पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति देखिएको जानकारी दिएका छन् ।

उहाँले भन्नुभयो, “तीन वटा पिलरको काम मात्र भएको छ, बिम र स्ल्याब राख्ने काम बाँकी छ ।” श्रेष्ठका अनुसार सम्झौता गरिएको समयमा आधा काम पनि गर्न नसेकेको कम्पनीले दुई पटकसम्म म्याद थपका लागि निवेदन दिएको छ । निर्माणमा ढिलाइ भएका कारण कार्यालयसमक्ष पेश नगरेसम्म म्याद थप गर्न नसकिने बारे निर्माण कम्पनीलाई जानकारी गराइएको श्रेष्ठले बताए ।

दुई स्पानको पुलको लम्बाइ ७० मिटर छ । रु चार करोड ९० लाख ८२ हजारको लागतमा पुल निर्माणको सम्झौता भएको थियो । पुल निर्माण सम्पन्न भएपछि जिल्लाको भीमाद बजारका अलवा स्याङ्जाको मिर्मी र पाल्पाका सर्वसाधारण लाभान्वित हुनेछन् ।

सभागृहको निर्माण ६० प्रतिशत सम्पन्न

तनहुँको सदरमुकाम दमौलीमा निर्माणाधीन सभागृह भवनको काम ६० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखामार्फत निर्माण भइरहेको सभागृह भवनको काम तीव्रगतिमा चलिरहेको छ ।

उक्त भवनको सरोकारवालाको टोलीले अनुगमन गरेको छ । गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलगायतको टोलीले भवनको अनुगमन गर्दै भवन निर्माणका सन्दर्भमा भइरहेको कामको प्रगतिबारे जानकारी लिएको छ ।

अनुगमनका क्रममा भवनको कामको गति राम्रो पाइएको जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार काम तीव्रगतिमा भइरहेकाले सम्झौताअनुसारको निर्धारित मितिमै भवन निर्माण सम्पन्न हुने देखिएको छ ।

भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण शुरु भएको थियो ।