समाचार

चीन र नेपालबीचको तातोपानी नाकामा तस्कर सक्रिय

मेलम्ची । चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो ।

अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन लैजान लागिएको ८३ किलो रक्तचन्दनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियोे । रक्तचन्दन र दुई भरियासहित काठमाडौँको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो ।

केही साताअघि पनि तातोपानी नाका हुँदै राजधानी काठमाडौँ भित्र्याउन लागेको अवैध खाद्य सामग्री बरामद गरिएको थियो । लोड गरेर फिर्ता आउने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थसहित खाद्य सामग्रीको बोलेरो गाडी पक्राउ परेको थियो । पक्राउ परेको बोलेरो र चालक रु एक लाख ८६५ धरौटीमा रिहा भएका थिए ।

तर, अवैध सामग्री पक्राउ परे पनि बाहिर कुनै सूचना आएको थिएन । पक्राउ परेका चालक रिहा भइसकेपछि मात्रै रहस्य बाहिर आएको थियो । सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले दाबी गरेका छन् ।

अवैध व्यापार अवस्था यस्तो थियो

सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पअघि अवैध व्यापारमा चर्चित थियो । सुन, रक्तचन्दनलगायतका अन्य बहुमूल्य सामग्री ओसारपसारको केन्द्र थियो । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने सुन, रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्न लाग्दा धेरैपटक प्रहरीले पक्राउ गरेको थियो ।

केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेललगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । यता सिन्धुपाल्चोकका विभिन्न ठाउँबाट पनि रक्तचन्दन बरामद हुनुका साथै तस्करसमेत समातिएका थिए ।

तातोपानी नाका बन्द भएपछि तस्कर व्यापारिक केन्द्र परिर्वतन गरेको पाइन्छ । तातोपानी नाका बन्द भएपछि अवैध सुन रसुवाको केरुङ नाकाबाट समेत पक्राउ परेको थियो । तस्करले विभिन्न ठाउँबाट धेरै संयन्त्र अपनाएर तस्कारी गर्दै आएका थिए ।

तातोपानी नाकाबाट पहिलेको जस्तो अवैध व्यापार नियन्त्रण गर्नका लागि चिनियाँ पक्षले नेपाली टोलीसँगको वार्तामा पटक–पटक भन्दै आएको थियो । नेपाली सरकारी टोलीले सुरक्षा प्रत्याभूत गराएपछि मात्रै चिनियाँ टोली नाका सञ्चालनमा तत्पर भएको थियो । गृहमन्त्री रामबहादुर थापाले नाका सञ्चालनको एक साता अगाडि नाकाको सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका थियो ।

सवारीसाधन र रक्तचन्दन अलपत्र

तातोपानी नाकाबाट बरामद भएका रक्तचन्दन र सवारीसाधन अहिले अलपत्र अवस्थामा थन्किएर बसेके छन् । बरामद भएका रक्तचन्दन सड्ने अवस्थामा पुगेका छन् भने सवारीसाधन कवाड बनिसकेका छन् । अवैधरूपमा भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको करीब ४० हजार किलोभन्दा बढी रक्तचन्दन कुहिने अवस्थामा छ ।

चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । बरामद भएका सामग्रीको विषयमा कानून नहुँदा के गर्ने भन्नेमा अन्योलता छाएकै कारणले अलपत्र परेको हो ।  जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा विसं २०६२ देखि बरामद गरिएको रक्तचन्दन र कवाड बनिसकेका सवारी थन्किएर बसेका छन् ।

विसं २०६२ मा बाह्रबिसे प्रहरीले बरामद गरेको सात हजार ८०० किलो, २०६४ मा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ हजार ६०० किलो, २०६४ मै विशेष अनुगमन टोलीले बरामद गरेको आठ हजार २०० किलोलगायत रक्तचन्दन अपलपत्र अवस्थामा छ ।

सीमा क्षेत्रका बासिन्दाको आयआर्जनमा टेवा

नाका सञ्चालन भएपछि तातोपानी नाकाको व्यापारमा वृद्धि भएको छ । गत जेठ १५ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको नाकामा अहिले विस्तारै व्यापारमा वृद्धि हुँदै आएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएक छन् ।

नाकामा व्यापार वृद्धि भएपछि राजश्व सङ्कलनमा समेत वृद्धि भएको उनले बताए । नाका सञ्चालन भएपछि करीब डेढ महीनाको अन्तरालमा रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको थियो । यसअघि यस नाकाबाट दैनिक करौडौँ राजश्व सङ्कलन हुँदै आएको थियो ।