आर्थिक

सुनको मूल्य तोलाको ५०० ले बढ्यो, फेरि प्रतितोला रु ५००

काठमाण्डौ । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो ।

सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको देखिएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धिभई ८९५ पुगेको छ ।

पछिल्लो १५ दिनमा सुनको मूल्य चार पटक बढेको छ भने दुई पटक घटेको छ । सो अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ५०० ले वृद्धि भएको छ । भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० कायम भएको थियो ।

साउन महीनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा मात्रै सुनको मूल्य करीब रु सात हजार ५०० ले वृद्धि भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा पनि मूल्य बढेको महासङ्घले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५२७.१० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्यले नेपाली बजारलाई दबाबमा पारेको हो ।

बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणागरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आकलन गरिएको छ ।