समाचार

बेलायत सरकारलाई गेसोको अन्तिम चेतावनीः अक्टुबर २४ सम्म माग पुरा नभए भोक हड्ताल गर्छौं

काठमाडौं । भूतपूर्व ब्रिटिस गोरखा सैनिक गेसोले आफनो माग पुरा गर्न बेलायत सरकारलाई अन्तिम चेतावनी दिएका छन् । उनिहरुले बेलाएत सरकारलाई आउँदो अक्टुबर २४ सम्मको समय दिएका छन् । विभिन्न माग राखेर वर्षाैंदेखी आन्दालनरत शैनिकहरुले आफुहरुले दिएको समय सिमामा पनि बेलाएत सरकारले आफ्नो मागप्रति बेवास्ता गरे भोक हड्ताल सहितको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

साथै बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै उनीहरूले भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् ।

बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् । साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए ।

संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने चेतावनी उनले दिए । बेलायती गोरखा सैनिकको इतिहास लामो छ । पहिलो विश्वयुद्ध आफ्नो पक्षमा पार्न बेलायतले पहिलोपटक नेपाली प्रयोग गरेको थियो । त्यसयता उसको राष्ट्रियता र स्वाधीनताका लागि भर्ती भएर कैयन नेपालीले सेवा गरेका छन् । सैन्य सेवामा र्पुयाएको योगदानको प्रशंसा गर्दै नेपालीहरू त्यहाँको विभिन्न प्रतिष्ठित पदकबाट सम्मानित भएको इतिहास छ ।

यद्यपि, त्यहाँको सेनामा भर्ती हुने बेलायती र नेपालीबीच विभेदको गहिरो खाडल रहेको भन्दै भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् । उनीहरूले बेलायत सरकारको असमान व्यवहारविरुद्ध संघर्ष गर्दै आइरहेका छन् । यसअघिका दबावहरूले आफ्ना माग सुनुवाइ नभएपछि पछिल्लोपटक उनीहरूले भोक हड्तालको चेतावनी दिएका हुन् ।