प्रदेश 1

इलाममा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी

फिक्कल । इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ ।

यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल शुरु भएको उनले बताए । चापागाईँसहित केही चिकित्सकसहितको टोलीले केही समयअघिबाट निजी क्षेत्रबाट अस्पताल सञ्चालनका लागि पहल गर्दै आएको थियो । उनले दर्ताको काम शुरु गरिएको जानकारी दिएका छन् । चापागाईका अनुसार कूल लागतको ६० प्रतिशत चिकित्सकबाट र अन्य ४० प्रतिशत लगानी स्थानीयवासीबाट गरिने छ । ‘

इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर’का नामबाट सञ्चालन गरिने उक्त अस्पताल आगामी फागुन महीनाबाट शुरु गरिने बताइएको छ । अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिको निर्माणाधीन भवन भाडामा लिइने बताइएको छ । प्रबन्ध सञ्चालक चापागार्इँले स्थानीयवासीलाई लगानी गर्नसमेत आग्रह गर्नुभएको छ ।

जिल्ला अस्पतालमा सामान्यभन्दा सामान्य उपचारमा पनि समस्या हुँदै आएको छ । सामान्य ज्वरो आउँदा पनि झापा र भारतका विभिन्न क्षेत्रमा उपचारमा जानुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीले पनि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नबस्ने, बसे पनि अत्याधुनिक सेवा नभएकाले जिल्लावासीलाई समस्या भएको छ । सदरमुकाममा रहेको एक मात्र सामुदायिक अस्पताल पनि बन्द भएपछि समस्या उत्पन्न भएको छ । राम्रो र गुणस्तरीय सेवा दिनसके यहाँ खुल्ने अस्पतालमा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका स्थानबाट समेत बिरामी आउने बताइएको छ ।