गण्डकी प्रदेश

१९ लाख लागतमा पुस्तकालय भवन निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरी कूल रु १९ लाख लागतमा एककोठे भवन निर्माण भएको हो ।

संस्थाले रु १६ लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयवासीबाट रु तीन लाख बराबरको श्रमदान भएको शिक्षक यामनाथ पौडेलले जानकारी दिएका छन् । संस्थाले एक हजार ४०० थान विभिन्न विधाका पुस्तक पनि उपलब्ध गराएको छ । यसअघि पुस्तकालय स्थापना भए पनि भवन अभावमा व्यवस्थित हुनसकेको थिएन ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा बालकक्षासहित २१५ विद्यार्थी छन् । बेलायती नागरिकहरुले स्थापना गरेको पहार ट्रसको सहयोगमा यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा आठकोठे भवन निर्माण भएको थियो ।

भवनको १२ औँ पुस्तकालय दिवसको अवसर पारेर आइतबार वडाध्यक्ष पिपला बुढाले भवनको उद्घाटन गरेका हुन् । अध्यक्ष बुढाले पुस्तकालयलाई प्रभावकारी र व्यवस्थित गर्न कोषको आवश्यकता औँल्याउँदै त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालयलाई दुई लाख ६० हजार सहयोग

म्याग्दीको मङ्गला गाउँपालिका–५ किमचौरमा रहेको विष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई रु दुई लाख साठी हजार सहयोग प्राप्त भएको छ । मङ्गला–५ पिपलबोटका वीरेन्द्र बुढाथोकीले रु दुई लाख, मङ्गला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले रु ५० हजार ५५ र मङ्गला–४ थर्पु घर भई हाल बेलायत बस्नुहुने धनकुमारी छन्त्याल रोकाले रु १० हजार सहयोग गरेका थिए ।

विसं २०१७ मा भूपूजिल्ला सभापति रामबहादुर बुढाथोकीको पहलमा स्थापना भएको यो विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गरिएको प्रअ गुप्तबहादुर रोकाले बताए । सहयोगदाता वीरेन्द्र रामबहादुरका छोरा हुन । ९० विद्यार्थी रहेको यो विद्यालयमा १–५ तहको मात्र दरबन्दी छ ।

६ देखि ८ सम्मको कक्षा सञ्चालनका लागि तीन निजी स्रोतका शिक्षक राखिएको छ । निमाविमा एक राहत, प्रावि स्थायी एक, प्रावि राहत दुई र एक करार शिक्षक छन् । तीन शिक्षकको तलबभत्ता चन्दा, देउसीभैलो खेलेर जुटाउने गरिएको व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र फगामीले बताउनुभयो । प्राप्त सहयोग रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने विद्यालयले जनाएको छ ।

विसं २०७५ को गाउँपालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयका शिक्षक डिबी घर्तीले बताएका छन् । दरबन्दीअनुसार शिक्षकको व्यवस्था भएमा सिकाइ उपलब्धि र गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनले बताए ।