शिक्षा

बिद्यालयको थप चार भवनको निर्माण कार्य सम्पन्न

रसुवा । विद्यालय सुधार कार्यक्रमअन्तर्गत यहाँको कालिका हिमालय माविको हातामा थप चार भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

उक्त विद्यालयका थप भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत जापानिज फण्ड फर पोभर्टी रिडक्सनको आर्थिक सहयोग एवं एशियाली विकास बैंकको प्राविधिक सहयोगमा रु १० करोड ३७ लाख ९७ हजारको लागतमा निर्माण भएको हो ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सो भवनको आइतबार उद्घाटन गर्दै भौगोलिक विकट भएको हिमाली जिल्ला रसुवाका विद्यालयलाई क्रमिकरूपले सुधार गर्दै भविष्यका कर्णाधार बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न वर्तमान सरकार अगाडि बढिरहेको बताए । उनले प्रत्येक विद्यालयमा भवन सुधार एवं निर्माण गरी ल्याब सुविधासहितको शिक्षक व्यवस्थापनमा सरकारले विशेष प्राथमिकता दिएकोे बताए ।

दक्षिणी रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानमा अवस्थित कालिका हिमालय मावि नमूना विद्यालयको रुपमा विकसित हुँदै गएको र दुई हजार ५३ स्क्वायर मिटरमा निर्माण गरिएको नयाँ थप चार भवनले ग्रामीण क्षेत्रका विपन्न छात्रछात्रालाई छात्रावासमा बसी पठनपाठन गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेगराज घिमिरेले (प्रभाकर) बताएका छन् ।

नयाँ निर्माण भएको छात्रावास भवनमा ६४ छात्रछात्रा अट्ने क्षमता रहनुको साथै क्यान्टिन तथा विज्ञान विषयको ल्याब सञ्चालन गर्नसमेत सहज भएको विद्यालयले जनाएको छ । कालिका हिमालय माविमा हाल ६०० विद्यार्थी अध्ययनरत रहेको र गुणस्तरीय शिक्षाबाट नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको बताइएको छ ।

आफ्नो घरको मिठोपिठो खाएर भविष्यका कर्णधार विद्यार्थीले स्थानीयस्तरमै उच्च शिक्षा हासिल गर्न पाउँदा छात्रछात्रा प्रफल्लित भएका र वर्तमान सरकारले शिक्षाप्रति दिएको प्राथमिकता सराहनीय भएको यहाँका स्थानीयवासी अविभावकहरु बताउँछन् ।

सदरमुकाम धुञ्चेदेखि २४ किमी दूरी दक्षिणको कालिकास्थान मन्दिर आसपासमा, पासाङल्हामु राजमार्गसँगै रहेको सो विद्यालयमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने रमणीय क्षेत्र भएको र गर्मी, जाडो दुवै सिजनमा मौसमको सहज वातावरण मिल्ने भएका कारण छिमेकी जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेको विद्यालयले जनाएको छ ।