खेलकुद

राष्ट्रिय महिला भलिबल उपाधिका लागि न्यू डायमण्ड र पुलिस भिड्दै

पोखरा । पोखरामा जारी तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज सोमबार विभागीय टिम नेपाल पुलिस क्लब र होङ्गवान्जी न्यू डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुदैछ ।

पोखराको लामाचौरमा आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङ र न्यूडायमण्डले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । दोस्रो सेमिफाइनलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–४, २५–७ र २५–११ को सेटमा पराजित गरेको थियो ।

यसअघि चार पटकको च्याम्पियन न्यू डायमण्डले गण्डकी प्रदेशलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटमा हराउँदै फाईनल यात्रा तय गरेको थियो । फाईनल खेल दिउँसो १ बजे हुनेछ । त्यसअघि गण्डकी र श्रीरामबीच तेस्रो स्थानको लागि खेल्नेछन् । यसअघि समूह चरणको खेलमा पुलिसले न्यू डायमण्डलाई ३–२ को सेटमा हराएको थियो ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता छ ।