समाचार

आज हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिजः प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं । आज हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज मुलुकभर धुम–धामका साथ मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व हिन्दू महिलाहले आज निराहार व्रत बसि महादेवको पूजा आराधना गरी मनाउँदै छन् ।

जनश्रुति अनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका हुन् ।

तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरु बताउँछन् । व्रत बसेका महिलाको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शनका लागि भीड लाग्ने गर्छ । आजको दिन मन्दिर परिसरमै नाचगान गरी व्रतालु महिलाले रमाइलो गर्छन् ।

महिलाले वर्ष्दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्छन् । केही वर्षयता तीज आउनुअघि नै भड्किलोरूपमा दर खाने र उपहार दिने क्रमले गर्दा कतै यो पर्व हुनेखानेको मात्र नहोस् भन्ने चिन्ता पनि गर्न थालिएको छ । अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई निरुत्साहित गर्न सकिएमा तीजको महत्व झन् बढ्दै जाने आम महिलाले बताएका छन् ।

यसैबीच तिजको अबसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले शुभकामणा दिएका छन् । सामाजिक सञ्जाल ट्वीट मार्फत ओलीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिएका छन् ।

 

उनको ट्वीटः नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना ।