राजनीति

काँग्रेसले सरकारमा हुँदा केही गरेन, अहिले बिरोध गर्नु लज्जास्पदः मन्त्री यादव

रौतहट ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताएका छन् । चन्द्रनिगाहपुरमा आज नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उनले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिए ।

“प्रतिपक्षमा रहेर विरोधभन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्छ”, मन्त्री यादवले भने। उद्योग तथा व्यवसाय क्षेत्रका समस्या सहकार्य, बहस र छलफलका माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो । पुराना ऐन÷कानून उद्योगका लागि बाधक भए सच्याउन वा परिमार्जन गर्न सकिने उनले बताए । उनले सरकारमा हुँदा केही नगर्ने तर अहिले प्रतिपक्षीको रुपमा सरकारको विरोध गर्नु लाजमर्दो भएको दाबी गरेका छन् ।

इँटा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले बाधक भएको मन्त्री यादवले बताउनुभयो । उहाँले तुरुन्त नयाँ प्रविधिमा जान सुझाव दिनुभयो । धुवाँ र प्रदूषणमुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापनामा उनले जोड दिए । “इँटा उद्योग व्यवस्थित गर्न खोजेको हो, आतङ्कित पार्ने उद्देश्य होइन्”, मन्त्री यादवले प्रष्ट पारे । काभ्रेपलाञ्चोकको भकुण्डेबंँसीमा इँटा उद्योगमा भएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्दै यसबारे यथार्थ पत्ता लगाइने बताए ।

उद्योगमन्त्री यादवले प्रतिपक्ष काङ्ग्रेसले आफू सरकारमा हुँदा काम नगरेको र अहिले प्रतिपक्षको धर्म निर्वाह गर्नका लागि मात्र सरकारको विरोध गरिरहेको उल्लेख गरे । बन्द रहेका उद्योग तथा कारखाना सञ्चालन गर्ने प्रक्रियामा रहेको मन्त्री यादवले बताए ।

कार्यक्रममा सांसद देवप्रसाद तिमल्सिनाले इँटा उद्योगले कर मात्र बुझाउने सरकारीस्तरबाट सेवा सुविधा नपाउने भएपछि समस्या भएको बताए । उनले व्यवसाय प्रर्वद्धनमा जोड दिनुपर्ने बताए । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर चन्दले इँटा उद्योग र व्यवसायीका समस्या सरकारले बुझ्नुपर्ने बताए । देशभरका इँटा व्यवसायी सहभागी रहेको उक्त साधारणसभामा आयव्यय, वार्षिक प्रतिवेदन, भावी योजनालगायत विषयमा छलफल भएको थियो ।