आर्थिक

सेजनका अध्यक्षमा गौतम, महासचिवमा ओली

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमिति चयन भएको छ । सेजनको यहाँ आज सम्पन्न २०औँ साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।

अधिवेशनको आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका थिए । उनले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गरे । गभर्नर डा. नेपालले सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका छायाँमा परेकाले थप सचेतता जरुरी रहेको बताए । कार्यक्रममा सेजनका पूर्वअध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितालाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । पत्रकार महासंघका पुर्व अध्यक्ष डा शुरेस आचार्यले आर्थिक पत्रकारहरुको छाता संगठन सेजनले पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताए।

निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरे ।

२३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरेका थिए ।

त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत निर्वाचित भइन् । प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३÷८३ बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए ।

त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित भएका छन् । प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए ।

सेजनको अधिवेशनलाई आर्थिक क्षेत्रबाट महत्वका साथ हेरिने गरिएको छ ।