समाचार

सुर्खेत गाईगोरु मुत्यु प्रकरणः गृह मन्त्रालयद्वारा छानविन समिति गठन

काठमाण्डौ । सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ ।

उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ । गौ–हत्या जस्तो गम्भीर अपराधमा संलग्नलाई कानूनअनुसार हदैसम्मको कारवाही गरिने गृह मन्त्रालयले जनाएको छ । “अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने कुरामा गृह मन्त्रालय प्रतिबद्ध छ”, मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । समितिलाई घटनाको अनुसन्धान र सहयोग पु¥याउन सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ ।

नेपालगन्जबाट बिहिबार दैलेखका लागि लगिएका गाई र गोरु सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित दैलेख–सुर्खेत सडकखण्डको कटकुवा जङ्गलमा मरेको फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गाई र गोरुको ओसारपसार, अस्वाभाविक मृत्यु र घाइते भएको घटनामा कसको सम्बन्ध थियो भन्नेबारे यकिन गर्नसमेत समितिलाई निर्देश गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी र ट्रक चालकले विरेन्द्रनगर नगरपालिका–१४ कटकुवा जङ्गलमा गाई र गोरु छाडेर फर्किएका थिए । नेपालगन्ज–२१ बेतनी र फूलटे बीचमा रहेको काञ्जीहाउसबाट नगरप्रहरीको नेतृत्वमा आठ ट्रकमा गाई र गोरु दैलेखको श्रीस्थान पठाइएको थियो । बीचमा गाई र गोरु बिरामी भई मर्न थालेपछि उनीहरुले बीच जङ्गलमै छाडेको बताइएको छ ।

१६७ गाईगोरु फिर्ता, ३० मृत फेला

खोजी गर्दा आजसम्म १६७ गाईगोरु फेला परेको छ । त्यसमध्ये १४६ गाईगोरु नेपालगन्ज फिर्ता गरिएको छ भने केहीलाई दैलेख पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए । अहिलेसम्म ३० गाई र गोरु मरेको फेला परेको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । “खोजी जारी छ”, उनले भने । नेपालगन्ज उपमहानगरपालिकाले २९१ गाईगोरु पठाएको जानकारी दिएको छ ।

“भिरबाट खसालेको देखिन्छ, मृत्यु भएपछि खसालियो या जिउँदै खसालियो यकिन भएको छैन, शव परिक्षणको रिपोर्टपछि मात्रै थाहा हुन्छ”, रावलले भने । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ट्रक चालकको विषयमा अनुसन्धान गरिरहेको छ । उनीहरुलाई आइतबार अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

सहायक प्रजिअ अर्यालले भने, “व्यवस्थापनमा केही कमजोरी भएको छ, तर गाईगोरु मार्ने नियत चाहिँ होइन ।” बजारमा छाडा भेटिएका पशु चौपायाको व्यवस्थापनमा नेपालगन्ज उपमहानगरपालिकाले चरम लापरवाही गर्दा दैलेख पठाइएका गाई र गोरु बाटोमै मरेका हुन् । त्यहाँ १५० भन्दाबढी गाईगोरु घाइते भेटिएका थिए । कतिपय गाईगोरु भिरमा मरेको अवस्थामा भेटिएको र केही सडक छेउका विभिन्न स्थानमा फेला परेका थिए ।

प्रहरी नायब उपरीक्षक रावलले नेपालगन्ज उपमहानगरपालिकाले गाईगोरु व्यवस्थापनमा लापरवाही गर्दा घटना भएको बताए । मुलुकी अपराध संहिताको पशुपक्षीसम्बन्धी कसुरको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाईगोरु मरेमा तीन वर्ष कैदको व्यवस्था छ । सोही मुद्दामा प्रहरीले अनुुसन्धान गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले दैलेखको श्रीस्थानमा छाड्नका लागि २९१ गाईगोरु बिहिबार पठाइएको जानकारी दिए ।