पर्यटन/संस्कृति

टानको निर्वाचनमा काँग्रेसबाट खुमबहादुरद्वारा उम्मेदवारी घोषणा

काठमाण्डौ । नेपाली काङ्ग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ ।

निट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो । सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदीप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरिएको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिए ।

यस्तै वामपन्थी पर्यटन व्यवसायीको तर्फबाट अन्जन थापा ‘कुमार’लाई अध्यक्ष बनाउने भएको छ । थापा समूहबाट लड्ने पदाधिकारी तथा सदस्यको नामावली टुङ्ग्याउन बाँकी रहेको छ ।

टानको वार्षिक साधारणसभा तथा निर्वाचन भदौ २० गते हुने भएको छ । पर्यटन क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको टानमा दुई हजारभन्दा बढी साधारण सदस्यले निर्वाचनमा भाग लिन पाउनेछन् ।