आर्थिक

सहकारीहरु कुनै हालतमा ‘मर्ज’ गर्नैपर्छः मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएका छन् ।

अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो ।

स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी छ भने ।

विसं २०७५ फागुन ३ गतेबाट सञ्चालनमा आएको सहकारी संस्थामा २६९ जना शेयर सदस्य रहेको कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिए । रु एक करोड ८२ लाख ८४ हजार शेयर पूँजी रहेको सो सहकारीको रु तीन करोड ३८ लाख ३६ हजार ५१७ कारोवार रहेको उनले बताए ।