प्रदेश 1

तनहुँमा नौ जनामा डेङ्गुको सङ्क्रमण फेला

तनहुँ । जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो ।

गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ ।
गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए ।  डेङ्गुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।

अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।

तनहँुमा आर्थिक वर्ष ०७१÷७२ मा तीन, ०७४÷७५ मा एक र ०७५÷७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेङ्गुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुई÷दुई जना डेङ्गुका बिरामी फेला परेका छन् । स्याङ्जामा नौ, तनहुँमा नौ, गोरखामा तीन जना डेङ्गुका बिरामी छन् ।