समाचार

छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटना २ को मृत्यु

खस्यौली । मुलुकको विभिन्न दुई स्थानमा भएको र्दुघटनामा परि २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिउका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नंको बोलेरो गाडीले सडकमा छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि गम्भीर घाइते उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उता शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ ।  सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पुर्याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।  लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिएका छन् ।

शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पुर्याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।