लुम्बिनी

न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्न आग्रह

दाङ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व रहेको बताएका छन् ।

अफिसर्स क्लबले आज बिहान गरेको बिदाई कार्यक्रममा उहाँले राष्ट्रसेवक कर्मचारीको मुख्य काम राज्यले आफूलाई सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु रहेको बताएका हुन् । थोरै बचेको समय व्यवस्थापन गरी सामाजिक काममा लगाउन सके आफूलाई नै समाजप्रतिको जिम्मेवारी अझै बढ्ने उनको भनाइ छ ।

सोही अवसरमा क्लबका संरक्षक तथा सरुवा भएर जान लाग्नुभएका उच्च अदालतका न्यायाधीश रामबहादुर थापाले क्लबका माध्यमबाट सामाजिक गतिविधिलाई अगाडि बढाउन वार्षिकरुपमा क्यालेण्डर बनाउनुपर्ने बताए ।

सोही अवसरमा क्लबका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सरुवा नियमित प्रक्रिया रहेको र जहाँ गए पनि राष्ट्रसेवक कर्मचारीले नागरिकलाई छिटो छरितो प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

सोही अवसरमा क्लबका संरक्षक तथा नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी सुशीलकुमार भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख गोपाल आचार्यलाई स्वागत गरिएको छ ।

क्लबका कार्यवाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव लिला शर्मा र क्लबका सदस्य कमल घलेले गरेका थिए ।