समाचार

बेचबिखनविरुद्धको दिवस साताव्यापीरुपमा मनाउन शुरु

कञ्चनपुर । भीमदत्तनगरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औँ राष्ट्रिय दिवस साताव्यापीरुपमा मनाउन शुरु गरिएको छ । ‘सरकारको प्रतिबद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ भीमदत्त नगरपालिकाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले संयुक्तरुपमा दिवस मनाउन थालेका हुन् ।

नगरपालिकाका उपप्रमुख सुशीला चन्दले पश्चिमी सीमानाका गड्डाचौकीबाट मानव बेचबिखन तथा ओसारपसारको अत्यधिक जोखिम भएकाले सीमा नाकालाई मध्यनजर गरी सरकारी तथा गैरसरकारी निकायसित सहकार्य गरी दिवस मनाउन शुरु गरिएको बताएका छन् ।

“पश्चिमी नाकाबाट बेचबिखन तथा ओसारपासको जोखिम छ, त्यस कारण नगरपालिकाले गड्डाचौकी नाकालाई मध्यनजर गरी संयुक्तरुपमा कार्यक्रम बनाइएको छ, त्यसअनुसार बेचबखिनविरुद्ध सचेतना कार्यक्रम, नाका निगरानीलगायतका कार्यक्रम राखिएका छन”, उनले भने ।

अशिक्षा, जनचेतना कमी र गरीबीका कारण मानव बेचबिखन हुने गरेको उल्लेख गर्दै नगर उपप्रमुख प्रमुख चन्दले महिलाको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिएका छन् । केही दिनअघि भारतको राजधानी नयाँ दिल्लीमा गरिएको कार्यक्रममा समेत आफूले बेचबखिन र ओसारपसारविरुद्ध भारतका सरकारी तथा गैरसरकारी अधिकारीलाई जानकारी गराएर बेचबिखन अन्त्यका लागि सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ ।

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस सफल पार्न सरकारी तथा गैरसरकारी क्षेत्र सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सहकार्य र समन्वय गरी जानुपर्नेमा उहाँले जोड दिएका छन् । वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले सरकारको नीतिअनुसार प्रहरी मानव बेचबिखन तथा ओसारपासर रोकथाममा लागेको बताए ।

“मानव बेचबिखनविरुद्ध प्रहरीले सचेतनामूलक कार्यक्रम पनि चलाएको छ, नाका सङ्घसंस्था समन्वय र सहकार्य गरी रोकथामका काम पनि गर्र्दै आएको छ”, प्रहरी निरीक्षक बुढथापाले भने । अधिकारकर्मी प्रभुनिधि पन्तले मानब बेचबिखनविरुद्धको दिवससम्बन्धी जानकारी गराएका थिए ।

उनले सीमा निगरानी, सचेतना मुलुक कार्यक्रम सञ्चालन र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन् । शुक्रबारदेखि दिवस मनाउने कार्यको शुरुआत गरिएको छ ।  सरकारले विसं २०६३ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस घोषणा गरेको थियो ।

दिवसको अन्तिम दिन यही भदौ २० गते पश्चिमी सीमा नाका गड्डाचौकीमा कार्यक्रम गरी समापन गरिने भीमदत्त नगरपालिकाका कलावती कुँवरले जानकारी दिएका छन् ।