समाचार

मुलुकभर भिषण वर्षाः वर्षाका कारण पहिरो,स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

रसुवा । गएराती देखी परेको अविरल वर्षाका कारण मुलुक जलमग्न हुन थालेको छ भने विभिन्न स्थानमा पहिरो गएको छ । मुलुकका विभिन्न स्थानका सडकमा पहिरो जाँदा सवारी साधनको आवत जावतमा निकै समस्या भएको जानकारी प्राप्त भएको छ ।

यस्तै उता हिजो देखी परेको वर्षाका कारण पहिरो जाँदा रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्र पहिरो गएपछि शुक्रबार रातिबाट सडक अवरुद्ध भएको हो ।

मुसलधारे पानी परिरहेकाले सडक खुलाउन नसकिएको रसुवागढी जलविद्युत् आयोजनाका प्रशासकीय अधिकृत टीका पौडेलले बताएका छन् । पानी पर्न रोकिएपछि लोडर पठाएर काम सुरु गर्ने उनको भनाई छ ।

लगातार वर्षा भैरहेकोले पनि सडक खुलाउन गाह्रो परेको उनको भनाई छ । वर्षाको समयमा यस क्षेत्रमा जलविद्युत् आयोजनाले सडक मर्मत गर्ने तथा पहिरो पन्छाएर सडक खुलाउने काम गर्दै आएको छ ।

यसैबीच मुलुकका विभिन्न स्थानमा हिजो सांझदेखी मेघगर्जन सहितको भारी वर्षा भैरहेको छ । मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिईन ।

उनका अनुसार अझै केहीबेर पानी पर्नेछ । दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको उनले जानकारी दिईन । पानी परेपछि शनिबार चुरेबाट बहने नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपास हिँडडुल गर्दा सतर्क हुन उहाँको सुझाव छ ।

यस्तै आज सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास तथा चितवनको कालीखोला र आसपास ठूलो पानी परेकाले बाह्रबिसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला आसपास पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।