अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिर पक्षीय कार्यक्रमको नेतृत्व

एजेन्सी । पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गरेका छन् । भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री खान संयुक्त राष्ट्रसंघको बार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो । उनले आउँदो महिना हुने महासभामा काश्मिरको दूतको रूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताएका छन् ।

प्रदर्शनका लागि प्रधानमन्त्रीको सचिवालय अगाडि पनि हजारौ उपस्थित भएका थिए । उनीहरूले काश्मिरमा फोन, इन्टरनेट जस्ता सञ्चारसम्वन्ध विच्छेद गरिएको, आन्दोलन गर्न प्रतिबन्ध गरिएको र हजारौँलाई पक्राउ गरिएको बारेमा पनि चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री खानले प्रदर्शनमा उत्रिएर काश्मिरका जनताप्रति ऐक्ववद्धता जनाइएको र आफूहरु काश्मिरी जनताको पछाडि रहेको सन्देश दिन चाहेको बताए । प्रदर्शनलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, “हामी सास रहेसम्म काश्मिरका जनताको पक्षमा उभिन्छौँ ।”

राजधानी इस्लामावाद बाहेक देशका अन्य सहरहरुमा पनि प्रदर्शनकारीको उल्लेख्य सहभागिता रहेको अधिकारीहरूले जनाएका छन् । प्रदर्शनकारीहरुले ठूला ठूला झण्डा फहराएका थिए भने काश्मिरी जनताको अधिकारका पक्षमा नारा लगाएका थिए ।