शिक्षा

सामुदायिक विद्यालयमा डिजिटल प्रविधिबाट अध्यापन

इलाम । देउमाई नगरपालिकाको जीतपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने गर्छ ।

यति मात्र होइन, ल्यापटपमा तयारी गरिएको पाठयोजनालाई प्रोजेक्टरमा जोडेर मल्टिमिडियाबाट पढाउने काम हुन्छ । शिक्षकले पाठ्यपुस्तकमा भएको मात्र पढाउनेभन्दा पनि बाहिरका कुरा समेत समेटेर प्रस्तुति दिँदा यसप्रति विद्यार्थीको अध्ययनप्रति चासो बढेको देखिन्छ । नयाँ प्रविधिमा विद्यालय गएसँगै विद्यार्थीले समेत धेरै कुरा देखेकै भर जान्ने हुन्छ र धेरै कुरा पढाइरहन पर्दैन । जिल्लाका नमूना विद्यालयमध्येको एक यस विद्यालयमा शिक्षकलाई मात्र नभई विद्यार्थीलाई समेत सहज रुपमा अध्ययनमा लाग्न कक्षामा भएका कम्प्युटर सहयोगी बनेको छ ।

“हामी शिक्षकले पाठ्यपुस्तकको मात्र पढाउनु पर्ने बाध्यता छैन किनकि इन्टरनेटमा थप कुरा खोजेर पनि सिकाउन सकिन्छ,” विद्यालयका प्रधानाध्यापक गोविन्द बरालले भने – “कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट पढाउँदा विद्यार्थीलाई पनि पढे जस्तो अनुभव हुँदैन । त्यसैले सिक्न धेरै सहज हुन्छ ।”

विसं २०६३ मा चिनिया राजदूतावासले चार वटा कम्प्युटर दिएपछि दुःखले नयाँ प्रविधिबाट पढाइ शुरु गरिएको यस विद्यालयमा अहिले २१ वटा ल्यापटप त शिक्षकलाई घरघर लग्न दिने गरिएको छ । शिक्षकलाई घरमै भोलिपल्ट पढाउने विषयका बारेमा तयारी गर्न ल्यापटप दिइएको हो । “शुरुआती वर्ष भएकाले पनि तयारी गर्न शिक्षकलाई गार्‍हो हुन्छ, घरघरमा ल्यापटप लग्न दिए शिक्षकले घरमै तयारी गर्नसक्ने भएकाले उनीहरुलाई दिएका हौँ,” प्रधानाध्यापक बरालले भने – “अबको आउँदो शैक्षिक सत्रमा चाहीँ सबै कक्षा कक्षामा मल्टिमिडियाबाट पढाउने गरी तयारी गरिरहेका छौँ ।”

यति मात्र नभई लामो समयदेखि शिक्षण पेशामा रहेका र कम्युटरसम्बन्धी ज्ञान नभएका शिक्षकका लागि भने डिजिटल प्रविधि सिक्न तालीम समेत दिइँदै आइएको छ । सबै शिक्षकलाई समान ज्ञान दिलाउन र प्रविधिमा दक्ष बनाउन विद्यालयले गएको मङ्सिरदेखि अस्ति असारसम्म प्रशिक्षण समेत दिएको थियो ।

यस विद्यालयमा दुई दर्जनभन्दा बढी कम्प्युटर र ल्यापटप अहिले अध्ययन गराउनकै लागि प्रयोग गर्ने गरिएको छ भने विद्यालयका कक्षा कक्षामा सिसी क्यामरा समेत राखिएका छन् । यसले गर्दा शिक्षकले आफ्नो कक्षा समय पढाउँदै गरेको छ वा छैन वा विद्यार्थीले पढेको छ वा छैन भन्ने बारेमा समेत थाहा पाउन सहज भएको छ । “हामीले विद्यार्थीका कक्षाका साथै स्टाफ रुममा समेत सिसी क्यामरा जोडेका छौं, शिक्षकले पनि आफ्नो पिरियडमा पढाएकोःनपढाएको जान्न एकदम सहज भएको छ,” बरालले भने । विद्यालयमा अहिले विद्युतीय हाजिरी संयन्त्रसमेत जोडिएको छ ।

सदरमुकामकै आदर्श माध्यमिक विद्यालय विसं २००४ सालमा स्थापना भएको हो । पुरानो विद्यालय भए पनि आदर्श प्रदेश नं १ कै पहिलो डिजिटल प्रविधिमा गएको विद्यालय हो । यस विद्यालयमा डिजिटल माध्यमबाट पढाउन भन्दै केन्द्रीय सरकारबाटै कार्यक्रम आएपछि विद्यालयले भर्खरैदेखि यो प्रविधि अपनाउन शुरु गरेको हो ।

विद्यालयका १२ वटा कक्षामा स्मार्ट बोर्ड राखिएको छ भने विद्यार्थीलाई पढ्न सहज पारिदिन विद्यालयले नै ई–लाइब्रेरीलाई प्रयोगमा ल्याएको छ । विद्यालयमा इन्टरनेटको समेत व्यवस्था छ । कक्षा १ देखि ५ सम्म नेपालीका अतिरिक्त अंग्रेजी माध्यमबाट समेत पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताए ।

उनका अनुसार कक्षा ६ देखि ८ सम्म ऐच्छिक विषयका रुपमा कम्प्युटर पढाइ हुने गरेको छ । अहिले विद्यालयमा सूचना तथा प्रविधि विभागबाट प्राप्त ५० वटा कम्प्युटर, १२ वटा स्मार्ट बोर्ड र १२ वटा सिसी क्यामरा छन् । प्रधानाध्यापक पौडेलका अनुसार २० वटा सिसी क्यामरा प्रदेश नं १ र स्थानीय सरकारले उपलब्ध गराएको हो ।

जीतपुर र आदर्श माध्यमिक विद्यालय मात्र होइन, जिल्लाका अधिकतर सरकारी विद्यालयमा अहिले डिजिटल प्रविधि भित्रिएको छ भने विद्यालय विद्यालयमा मल्टिमिडियाबाट पढाइ हुन्छ । यो प्रविधिबाट पढाउँदा विद्यार्थीलाई बुझ्न सहज हुने मात्र हैन शिक्षकलाई पनि पढाउन सहज हुने गरेको विज्ञहरु बताउँछन् । यसले गर्दा घोकन्ते विधिको प्रयोग घट्ने र पढेको अनुभूति विनै विद्यार्थीले जान्ने भएकाले प्रविधितर्फ आकर्षण बढेको देखिन्छ । एउटा प्रविधिबाट अर्को प्रविधिमा जाँदा समस्या देखिने भए पनि विस्तारै नयाँ प्रविधिबारे शिक्षक अभ्यस्त बन्दै जाँदा सहज हुने शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ मगरले बताए ।

“हाम्रा विद्यालयले यो प्रविधि अपनाउँदा भोलि पनि यसलाई निरन्तरता दिन सक्नुपर्छ,” प्रमुख मगरले भने – “आज डिजिटल प्रविधिमा जाने भोलि चाहीँ आर्थिक र प्राविधिक समस्याले फेरि पुरानै प्रविधिमा फर्कने गरी यो प्रविधि शुरु गर्नु हुँदैन ।”

उनका अनुसार यस प्रविधिमा जान पुराना शिक्षकलाई केही असहज हुन्छ । धेरैले कम्प्युटर चलाउन समेत नजान्ने भएकाले पुरानै प्रविधिबाट पढाउनु पर्ने स्थिति पनि रहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सूर्योदय नगरपालिकाले माध्यमिक तह पढाइ हुने सबै विद्यालयमा डिजिटल हाजिरी शुरु गरेको छ भने अर्को वर्षदेखि अन्य तहका विद्यालयमा पनि यसलाई पुर्‍याउने योजनामा छ ।

यस्तै, जिल्लाको माईजोगमाई गाउँपालिकाले अमर कल्याण माध्यमिक विद्यालयमा डिजिटल प्रविधिको प्रयोग शुरु गरेको छ । केही विद्यालयले विद्युत् आपूर्तिको समस्याले गर्दा यो प्रविधि शुरु गर्न सकेको छैन । आफ्नै लगानीमा भए पनि धेरै विद्यालयले डिजिटल प्रविधि पछ्याएको देखिन्छ ।

सरकारले ४० वटा सरकारी सेवालाई विद्युतीय माध्यमबाट लाने तयारी गरेसँगै विद्यालयलाई पनि डिजिटल माध्यममा लग्न शुरु गरिएको शिक्षा तथा प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवको भनाइ छ ।

“हामी अहिले कर तिर्ने, मालपोत सेवा, सवारी चालक अनुमतिपत्र जारी लगायतका ४० वटा सरकारी सेवालाई डिजिटल प्रविधिमा लग्ने योजनामा छौं,” उनले थपे – “सार्वजनिक सेवामा सबैको पहुँच पु¥याउन यो प्रविधि शुरु गरिएको हो । कम्तीमा पनि सेवाग्राहीले घरमै बसेर वा एकै ठाउँमा रहेर सेवा लिन सक्ने गरी सेवा दिन पनि यो प्रविधि शुरु गरिएको हो ।”

राज्यको सूचना प्रविधिको प्रयोग सबै नागरिकले अधिकतम रुपमा गर्न सकूँन भनेर सरकारले यो कदम चालेको महानिर्देशक यादव बताउछन् । डिजिटल प्रविधिबाट मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने महानिर्देशक यादव दाबी गर्छन् ।