कृषि

नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालन

चितवन । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो ।

महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग गरिने मकै, भटमास, ढुटोसँगै विभिन्न पिनाहरुमा रहेको ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिने गरेको छ । उनका अनुसार छ प्रकारका ढुसीको अवस्थाको बारेमा प्रयोगशालामा परीक्षण गरिने गरेको छ ।

कुखुरालाई २० पिपीएमभन्दा कम ढुसीको मात्रा भएको दाना खुवाउनुपर्ने हुन्छ । त्यस्तै ३० पिपीएमसम्मकोलाई औषधि राखेर उपचार गर्न सकिन्छ भने त्यो भन्दा बढी ढुसी भएका दाना कुखुरालाई खुवाउन नहुने पोखरेलको भनाइ छ । प्रयोगशालामा लाग्ने खर्चको आधा रकम महासङ्घले व्योहोर्ने र बाँकी स्वयं उद्योगले व्योहोर्ने व्यवस्था मिलाइएको छ ।

एउटा नमूना परीक्षणका लागि रु दुई हजार खर्च हुने गर्दछ । नारायणगढको पोल्ट्री व्यवसायी मञ्चको कार्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार भदौ १ गतेबाट प्रयोगशाला सञ्चालनमा आएको हो । हालसम्म १८ नमूना परीक्षण भइसकेको छ । नमूना सङ्कलनपछि प्रयोगशाला हेर्ने चिकित्सक बोलाएर परीक्षण गराइन्छ । डा विष्णुहरि पोखरेलले नमूना परीक्षण गर्दै आएको बरालले जानकारी दिए ।

पशु र पक्षी दुवैको दाना परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको हो । ढुसीको मात्रा बढी भएको दाना खुवाउँदा कुखुरा मर्ने, बढ्न नसक्ने, उत्पादनमा कमी आउने भएपछि महासङ्घले दाताहरुसमेत खोजी गरी प्रयोगशाला स्थापना गरेको हो ।