सुदूरपश्चिम

अछाममा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

अछाम । जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो ।

गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सामान्य समस्यालाई पनि ठूलो रूपमा लिने र तत्काल धैर्य गर्न नसक्ने समस्याका कारण जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

उनका अनुसार आत्महत्याका घटनालाई केलाउँदा केहीले विष सेवन र धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेका पाइएको छ । जिल्लामा बढ्दै गएको आत्महत्याको सङ्ख्या र आत्महत्या गर्नेको अध्ययन गर्दा लागुपदार्थको सेवन, गरीबी, घरायसी विवाद, पारिवारिक कलह, गरीबी, अशिक्षा, सामाजिक सञ्जालको प्रयोग तथा मानसिक स्थिति कमजोर हुनु प्रमुख कारण रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिएका छन् ।

आर्थिक अभाव हुन र घर परिवारबाट सहयोग नहुँदा पनि आत्महत्या गर्ने गरेको पाइएको उनले बताए ।