खेलकुद

अण्डर– १९ क्रिकेटको अन्तिम अभ्यास खेलमा आज नेपाल मरियन्ससँग भिड्दै

काठमाडौं । अण्डर – १९ को अन्तिम खेलमा आज नेपालले मरिनसंग खेल्दै छ । एसीसी अण्डर– १९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आज तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ ।

नेपालले शुक्रबार श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्ससँग खेल्दैछ । खेल कोलम्बोमा हुने छ । अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको छ । नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो ।

पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब एसएससी को अण्डर–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो । एसीसी अण्डर– १९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।