शिक्षा

विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने

हेटौडा । सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ ।

राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । खासगरी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय जनसमुदायको अगुवाइमा काम भइरहेको उनले बताए । छात्राबास निर्माणमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने अध्यक्ष भनाइ छ ।

छात्राबास निर्माणका लागि आवश्यक जग्गा खरीद गर्न वडा नम्बर ६ का वडाध्यक्ष सिंहलाल चेपाङले आफ्नो छ महीना बराबरको वेतनसमेत हस्तान्तरण गरे । विद्यालयको छात्राबास भवन निर्माणका लागि जग्गा खरीद गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराम चेपाङलाई रकम हस्तान्तरण गरेको स्थानीय युवा समाजसेवी प्रसान्त चेपाङले जानकारी दिएका छन् ।